प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
१ पुस, काठमाडौं । प्रहरीले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले बताए । उक्त अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ ।
प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाण मानिएको छ ।
प्रहरीका अनुसार, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।
अहिले रवि लामिछानेसहित ५१ जनालाई प्रहरीले प्रतिवादी बनाउन राय दिएको छ भने पक्राउ परेका ५ जना र यसअघि पक्राउ परेका ९ जना तथा अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको छ ।
प्रहरीले सभापति लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको डीएसपी शर्माले जानकारी दिए ।
प्रकाशित मिति : १ पुष २०८१, सोमबार १४:५२