२५ पुष २०८१, बिहीबार | Fri Jan 10 2025

बसाइँसराइले रित्तियो हिमालपारीको जाङ गाउँ

१ पुस, हुम्ला । यहाँको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौँ, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो ।

यो वर्ष जाङ गाउँमा कोही नभएको तील गाउँका वडा सदस्य तुन्डुप लामाले जानकारी दिनुभयो । कोरोनामा बन्द रहेको चीनसँगको हिल्सा नाका खुलेपछि कोही रोजगारीका लागि चीनको ताक्लाकोट पुगेका छन् । बढी जसो जाङ गाउँका स्थानीय सिमकोटसहित जिल्ला बाहिर सुविधा सम्पन्न सहरमा बसाइँसराइ गरेर गएको वडा सदस्य लामाले बताउनुभयो ।

दुई वर्षयता गाउँपालिकाले यहाँका बिरामीको उपचारका लागि बाह्रै महिना लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी खटाएको थियो । हल्जी र तील गाउँका लागि स्वास्थ्य सेवा बाह्रै महिना उपलब्ध गराएको लिमी स्वास्थ्य चौकीका अहेब लोग बोहराले बताउनुभयो । जाङ गाउँको भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द भइसकेको छ ।

बसाइँसराइ गरी गाउँ छाड्ने जाङ गाउँमा मात्रै नभएर तील र हल्जीमा पनि बढेको हल्जी गाउँका स्थानीय छिरिङ तुण्डुप लामाले बताउनुभयो । यो वर्ष तील गाउँमा १५ घरधुरीको मात्रै बसोबास छ । हिउँदमा कोही चिसो छल्न जिल्ला बाहिर गएर वर्षायाममा घर फर्किने गर्छन् । तर विस्तारै हिउँदमा गाउँ छाडेर जानेहरु बर्सात लागेपछि पनि फर्किन छाडेका छन् ।

यातायात, विद्युत् जस्ता भौतिक सुविधा र गुणस्तरीय स्वास्थ्य , शिक्षालगायतका पहुँचको खोजी गर्दै लिमीका केही गाउँ विस्तारै रित्तिन थालेका हुन् ।

प्रकाशित मिति : १ पुष २०८१, सोमबार ०९:१३