२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

मुख्यमन्त्री कार्कीद्वारा झापा कप उद्घाटन

२९ मङ्सिर, झापा । झापा–११ फुटबल क्लबको आयोजनामा आजदेखि डोमालाल राजवंशी रङ्गशालामा ‘झापा कप–२०१८’ सुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा सिरहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस् क्लब र झापा ११ सहभागी हुने क्लबका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो ।

प्रतियोगिताको फाइनल खेल आगामी पुस ८ गते हुनेछ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु १० लाख, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु पाँच लाख, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रत्येक खेलमा प्लेयर अफ द म्याचले रु १० हजार नगद पाउनेछन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने एक जना तथा उत्कृष्ट गोलरक्षक एक जनालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै प्रतियोगिताबाट उदीयमान खेलाडीलाई ‘झापा ट्यालेन्ट’ घोषणा गरिनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार १५:३३