राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो: सञ्चारमन्त्री गुरुङ
२९ मंसिर काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा एंव सातौं महासभामा बोल्दै उहाँले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको बताउनुभएको हो ।
साथै उहाँले दुई प्रमुख दलको सरकारले उक्त समस्याहरूको समाधान खोज्न सुरु गरेको समेत बताउनुभयो ।
सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि पनि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो ।
मन्त्री गुरुङले राजस्व संकलनमा समस्या आएको स्वीकार गर्दै भन्नुभयो, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन। भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो । आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्याएको छ।’
उहाँले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको समेत बताउनुभयो ।
प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार १३:२३