२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

स्थानीयस्तरमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित

२९ मङ्सिर, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीयस्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित भएका हुन् ।

छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारबाट सहज रूपमा बिक्री भइरहेको छ । यहाँ कृषकलाई मागअनुसार मास पुर्याउनै हम्मेहम्मे भइरहेको छ ।

खेउसिङका कृषक कमानसिंह गुरुङले विगत वर्षहरूमा बजार खोज्दै हिँड्नु परे पनि यसपटक यहाँ उत्पादित मासले बजार पाएपछि आफूहरू खुसी भएको बताउनुुभयो । उहाँले भन्नुभयो, “विगतमा मास बिक्रीका लागि भौँतारिनुपथ्र्यो, अहिले त सहज रूपमा बिक्री गर्न पाउँदा सजिलो भयो ।” आँबुखैरेनी गाउँपालिकामा विगत एक वर्षदेखि सञ्चालनमा आएको हाटबजारले कृषि सामग्री बिक्री वितरण गर्न सजिलो भएको उहाँको भनाइ छ ।

बगईका कृषक सानुमाया भुजेलले मासले बजार पाउन थालेपछि यस खेतीतर्फ झनै आकर्षण बढ्ने बताउनुभयो । “बजार नपाउँदा कृषक खेतीतर्फ प्रोत्साहित हुँदैनन् तर जब उत्पादित सामग्रीले बजार पाउँछ त्यसले आकर्षण बढ्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको पहलमा सहज रूपमा मास बिक्री गर्न पाउँदा सजिलो भएको छ ।”

आँबुखैरेनीस्थित हाटबजारमा छ हजार ७५ किलोग्राम मास बिक्री भएको छ । पहिलो चरणमा चार हजार दुई सय र दोस्रो चरणमा एक हजार आठ सय ७५ किलो मास बिक्री भएको हो । त्यस क्रममा कृषकले रु १२ लाख १५ हजार आम्दानी गर्न सफल भएका छन् । पहिलो चरणमा रु आठ लाख ४० हजार र दोस्रो चरणमा रु तीन लाख ७५ हजारको मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकिलो रु दुई सयमा मास बिक्री गरिएको छ । “माग धेरै हुँदा सबैलाई पुर्याउन सकिएको छैन”, केसीले भन्नुभयो ।

गाउँपालिकाले हाटबजारसम्म ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन गरिदिएको थियो । यस्तै, मास उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको केसीले बताउनुभयो । गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ । हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोका रूपमा विकास भएको कृषकहरूले बताएका छन् ।

हाटबजारमा प्रत्येक शुक्रबार कृषकले कृषिउपज वस्तु बिक्री वितरणका ल्याउँछन् । हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले वार्षिक रु दुई लाख ५० हजार भाडा तिर्नेगरी गाउँपालिकाले जग्गा भाडामा लिएको बताउनुभयो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार १०:५२