१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रदर्शनका क्रममा सुडानमा विपक्षी दलका शिर्ष नेता पक्राउ

१४ पुस, काठमाडाैँ । सुडानको प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नका लागि विपक्षी दलका शिर्ष नेतालाई नै पक्राउ गरेको छ । मूल्यवृद्धिको विरुद्धमा यही डिसेम्बर १९ देखि सुरु भएको प्रदर्शनका क्रममा शिर्ष नेतालाई नै पक्राउ गरेपछि प्रदर्शनकारीहरु थप आक्रोसित भएका हुन् ।

प्रदर्शनकारीले राजधानी खार्तुमसहित देशभरका विभिन्न ठाँउमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा हजारौँ सहभागी भएका छन् । उनीहरुले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् । प्रदर्शनका क्रममा अहिलेसम्म १९ जना मारिएका र अरु हजारौँ घाइते भएका प्रदर्शनकारीले जनाएका छन् ।

घटनाका बारेमा अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न संयुक्त राष्ट्रसंघले पनि शुक्रबार आह्वान गरेको छ । सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा १८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिनुभयो ।

उत्तर अफ्रिकी राष्ट्र सुडानमा गत साता राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कफ्र्युसमेत लगाइएको थियो ।सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार १७:३६