२७ मंसिर २०८१, बिहीबार | Thu Dec 12 2024

प्लेअपमा पुग्ने पहिलो टोली बन्यो जनकपुर, काठमाण्डु ५ विकेटले पराजित

२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने पक्का भएको हो।

जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र ३ छक्का मदतमा सर्वाधिक २७ रन बनाए । हर्श थाकरले अविजित २५ रन योगदान गरे । साथै उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे ।

कप्तान अनिल साहले ११ र लाहिरु मिलान्थाले १६ रन बनाए । मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । बलिङमा काठमान्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए ।

बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३।३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।

बिहिबारको यस खेलमा अजनकपुरका कप्तान अनिल शाहले कीर्तिमानी ५ क्याच लिए । साथै उनले नपालको फ्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १६:२१