२५ पुष २०८१, बिहीबार | Thu Jan 9 2025

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीद्वारा आत्महत्या प्रयास

२६ मङ्सिर, सोल । दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उहाँको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।

राष्ट्रपति युन सुक येओलले डिसेम्बर ३ मा मार्सल ल घोषणा गर्दै सैनिक र हेलिकोप्टरहरू संसद्मा पठाउनुभयो । तर संसद् सदस्यहरूले यसलाई अस्वीकार गरेपछि केही घन्टामा नै त्यो आदेश फिर्ता लिन बाध्य हुनुभयो ।

रक्षामन्त्री किम योङ–ह्युनले गत बिहीबार राजीनामा दिनुभएको थियो र मङ्गलबार ‘विद्रोहको समयमा महत्त्वपूर्ण कार्यमा संलग्न’ र ‘अधिकारको प्रयोगमा बाधा पुर्याउने दुरुपयोग’ लगायतका अभियोगमा औपचारिक रूपमा पक्राउ पर्नुभएको थियो ।

संसदीय सुनुवाइका क्रममा कोरिया करेक्शनल सर्भिसका आयुक्त जनरलले पूर्वमन्त्रीले आफ्नो गिरफ्तारीको घोषणा हुनुभन्दा केही मिनेटअघि आत्महत्या गर्ने प्रयास गरेको बताउनुभयो ।

“मध्यरातको केही समयअघि (मङ्गलबार १५ः००) पूर्व रक्षामन्त्री किम योङ–ह्युनले सोल डोङबु हिरासत केन्द्रमा आत्महत्याको प्रयास गर्नुभयो”, सिन योङ–हेले भन्नुभयो ।

बुधबार बिहान आफूले रिपोर्ट प्राप्त गरेको उल्लेख गर्दै सिनले किमले आफ्नो कपडाको डोरी प्रयोग गरेर शौचालयमा आत्महत्या गर्ने प्रयास गरेको बताउनुभयो ।

“कन्ट्रोल रुमका एक कर्मचारी सदस्यले हस्तक्षेप गरे र जब उनीहरूले ढोका खोले, उहाँले तुरुन्तै आत्महत्यको प्रयास त्याग्नुभयो”, सिनले भन्नुभयो ।

सिनका अनुसार किम अहिले सुरक्षित सेलमा र राम्रो स्वास्थ्यमा रहेको बताउनुभयो ।

“चिकित्सा परीक्षणका नतिजाहरूले कैदीको स्वास्थ्य स्थिति कुनै असामान्यता बिना राम्रो रहेको सङ्केत गर्दछ र उहाँले हाल सुविधामा सामान्य जीवन बिताइरहनुभएको छ”, न्याय मन्त्रालयले एएफपीलाई पठाएको विवरणमा उल्लेख छ ।

किमले मङ्गलबार आफ्ना वकिलमार्फत ‘यस अवस्थाको सम्पूर्ण जिम्मेवारी मसँग मात्र छ’ भन्दै माफी माग्नुभएको थियो ।

उहाँले दक्षिण कोरियाली जनतासँग ‘गहिरो माफी’ माग्नुभयो र आफ्ना अधीनस्थहरू ‘केवल मेरो आदेश पालना गर्दै र तोकिएको कर्तव्य पूरा गर्दै थिए’ भन्नुभयो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १४:२६