खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न प्रचण्डको प्रस्ताव
१३ पुस, काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकामल दाहाल प्रचण्डले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न प्रस्ताव गरेका छन । शुक्रबार काभ्रेको चौरीदेउरालीको खाँडादेवी माविको स्वर्ण जयन्ती कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले कर्मचारीहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने भन्दै जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने बताए ।
उनले भने ‘राष्ट्रसेवकहरु संविधानको भावना अनुसार, ऐन कानुनको व्यवस्था अनुसार देशको कुनै भागमा सरकारले खटाएको ठाउँमा जानुपर्छ । यदि जान तयार नहुने हो भने जान नमान्ने कर्मचारीलाई राज्यले विदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर भए पनि संविधान कार्यान्वयनतिर लाग्नुपर्छ, यो मान्यतामा हामी छौं ।’
साढे २ सय वर्षदेखि रहेको राजनीतिक पद्धति अन्त्य गरेर भर्खरै नयाँ पद्धति सुरु भएको भन्दै प्रचण्डले नयाँ पद्धतिअनुसार सबै काम कारबाही नियमित हुन केही समय लाग्ने बताए । ‘हामी नयाँ सिष्टम संरचना र मान्यतामा गयौं, नयाँ संरचना सेट गर्न केही समय लागेको छ’ उनले भने ।
प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार १९:३९