९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै

२४ मङ्सिर, तेह्रथुम । म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पु¥याउन सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु १० करोड २४ लाख ५० हजार बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो ।

विसं २०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले जानकारी दिनुभयो । उक्त सडकअन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडकको चौडा गरिनेछ ।त्यस्तै लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई सय मिटर कालोपत्र हुने प्रमुख मिश्रले बताउनुभयो ।

उक्त सडक कालोपत्र भएपछि स्थानीय उत्पादन लालिगुराँस नगरपालिका–८ मङ्गलबारेबाट सदरमुकाम म्याग्लुङको हटियासम्म ल्याउन सहज हुने मङ्गलबारेका स्थानीयवासी ज्ञानु तिम्सिनाले बताउनुभयो । हिउँदमा जसोतसो सडक चले पनि वर्षातको समयमा यहाँका किसानले काँधमै बोकेर कृषि उपज हटिया ल्याउनुपर्ने बाध्यता यो सडक कालोपत्र भएसँगै अन्त्य हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १०:३१