१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा पहिलो पटक विकेन्द्रित, श्रममन्त्री विष्टको सराहनीय काम

१३ पुस, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको घोषणा अनुसार पुस १५ गतेदेखि वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरु विकेन्द्रित हुने भएको छ । पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर प्रदेश नम्बर ५ को वुटवलमा वैदेशिक रोजगारसँग सम्बन्धित सेवाहरु उपलब्ध गराउने कार्य हुन लागेको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

जनकपुर र वुटवल कार्यालयहरुबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएकाक संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन र नियमन गर्ने, सरोकारवालाहरुबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासोहरु सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता कार्यहरु हुने प्रवक्ता रेग्मीले बताएका छन ।

अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पु¥याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने मन्त्रालयले जनाएको छ । प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्नेछैन ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो । यसअघि दैनिक एक हजारको सङ्ख्यामा युवा श्रम स्वीकृतिका लागि श्रम कार्यालय पुग्ने गरेका थिए । सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्थासमेत देखिएको थियो । यस निर्णयलार्इ मन्त्री विष्टको अर्को सराहनीय कामको रूपमा व्यख्या गरिएको छ । मन्त्री विष्टले मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै नीतिगत सुधार र सेवाप्रवाहमा प्रभावकारी ल्याउनका निम्ति सुधारका काम गरिरहेका छन ।

प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार १९:१९