ओलीले स्थायी समितिमा भने, ‘पहिलोपटक प्रधानमन्त्री हुँदा मलाई हटाउन कोको लागे जानकारी छ’
१२ पुस, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदाको अवस्था सम्झिएका छन । जारी स्थायी समिति बैठकमा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले अाफ्नो सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टीभित्र अालोचना भएको भन्दै पहिलो पटक प्रधानमन्त्री हुँदाको अवस्थाको सम्झना गरे ।
उनले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूलाई हटाउन कोको लागेका थिए भन्ने पनि जानकार रहेको भन्दै सरकारका मन्त्रीहरुले भ्रष्टाचार, अनियमिता नगरेको, बरु प्रधानमन्त्री तहबाट भ्रष्टाचारविरुद्ध स्टिङ अपरेशन चलाइएको बताए । आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष भइरहेको र अब प्राप्त गर्नुपर्ने केही नरहेको तथा नियतबस कुनै गल्ती नगरेको स्पष्टीकरण दिएका छन् ।
अध्यक्ष ओलीले पार्टीमा सरकारको आलोचना भए पनि जनताबाट वाहवाही पाएको टिप्पणी गरे । अोलीले बैठकमा २ घन्टा १० मिनेट सम्बोधन गरेकाा थिए । उनले पार्टीमा एकताको सन्देश दिनुपर्ने र विरोधीहरुको अपेक्षालाई असफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार २१:११