१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

१२ मङ्सिर, सुनसरी । जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ ।

इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा धानखेती गर्नुभएको थियो । उहाँले करिब रु एक लाख लगानी गरी चार बिघामा धानखेती गरेको बताउँदै धान थन्काएपछि मकै र गहुँ छर्ने बताउनुभयो । गत वर्षभन्दा यस वर्ष धान ढिलो पाकेकाले अहिले बाली भित्र्याउने व्यस्तता बढेको उहाँको भनाइ छ । दुई बिघामा मकै र दुई बिघामा गहुँ लगाउने उहाँले जानकारी दिनुभयो ।

दसैँअघि धान भित्र्याउनुपर्नेमा समयमा धान नपाकेकाले अहिले उहाँलाई भ्याइनभ्याइ भएको हो । पाकेर घर भित्र्याउने समयमा पानी र असिनाले धान नष्ट गर्ने चिन्तासहित हतारमा बाली भित्र्याउन थालेको स्थानीय किसान रामचन्द्र यादवले बताउनुभयो । धानसँगै मकै र गहुँ छर्नुपर्ने भएकाले धान भित्र्याउन हतार भएको किसान वीरेन्द्र यादवले बताउनुभयो ।

सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ९० प्रतिशत किसानले धान भित्र्याएर गँहु र मकै बाली लगाउन खेत तयार गर्न थालेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताउनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १६:११