बालेन भर्सेस एमालेः सडक फोहर गरेको भन्दै एक लाख जरिवाना
७ मंसिर, काठमाडौँ । बालेन भर्सेस एमालेको अर्को संस्करण फेरि सुरू भएको छ । बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौँ महानगरपालिकाले एमाले माथि शुक्रबारको कार्यक्रम केन्द्रीत गरेर एक लाख जरिवाना गरेको छ । सडक फोहर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो ।
काठमाडाैँ महानगरपालिकाको प्रहरीले शुक्रबार ‘काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको’ ठहर गरेको छ ।
नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००।०० (अक्षरेपी एक लाख) जरिवाना गरिएको’ जानकारी दिनुभएको छ । एमाले अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको एमालेको जागरणसभाको फोहरका लागि भनेर महानगरले जरिवाना गरेकोहो ।
यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पाैडेलले एमाले महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतले महानगरपालिकामा फोहर बोक्ने गाडी पठाइदिन पटक पटक अनुरोध गर्दा पनि सहयोग नपाएको बताउनुभएको छ । उहाँले बालेनले एमालेप्रति पूर्वाग्रह राखेर गाडी नपठाइ जरिवानाको निर्णय गरेको बताउनुभएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार २०:४५