भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन
७ मङ्सिर, काठमाडौँ । गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज भर्चुवल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन आग्रह गर्नुभयो ।
“३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,” गृहमन्त्री लेखकले भन्नुभयो, “शान्ति सुरक्षा नभएर पुनःमतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।” निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उहाँले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिनेस्थिति आउन नदिन आग्रह गर्नुभयो ।
“लोकतन्त्रको आधार भनेकै निर्वाचन हो,” मन्त्री लेखकले भन्नुभयो, “त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस् ।” उहाँले पछिल्लो समय मुलुकमा लागुऔषधको अवैध कारोवार र दुव्र्यसन बढ्नुका साथै ठूलो चुनौतीका रुपमा देखापरेको बताउनुभयो ।”
लागुऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा जिल्लामा जोड दिन निर्देशन गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “भ्रष्टाचार र अवाञ्छनीय स्वीकार्य छैन ।” त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकाप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको बताउनुभयो । “जिल्लामा हेडस्पीज दिने, अरुको मनमार्दन गरेर सामाजिक सञ्चाल प्रयोग गर्ने कार्य हुँदैछन्,” उहाँले भन्नुभयो, “लोकतन्त्र अनुशासनको पद्धति हो, अराजकताको पद्धति होइन ।”
गृहमन्त्री लेखकले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजस्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री लेखकले नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी दिनुभयो । “२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ,” उहाँले भन्नुभयो, “जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो ।”
त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले वैदेशिक रोजगारीका नाउँमा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागुऔषध नियन्त्रणलगायत विषयमा ध्यान दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभयो ।
गृह मन्त्रालयद्वारा आयोजित उक्त भर्जुवल बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार २०:३४