२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

जागरणसभाः एमालेविरूद्धको दुष्प्रचारको सडकबाट प्रतिवाद

-सन्जिब धिताल

सामान्यतया लोकतन्त्रमा सत्तामा रहेको दलले सडक आन्दोलनमा गर्ने वा सडकमा जाने कुरा स्वाभाविक होइन तर सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले आज मङ्सिर ७ गते सामाजिक सदभाव र राष्ट्रिय एकताको लागि भन्ने मुल नाराका साथ जागरण सभा गर्न लागिरहेको छ । लोकतन्त्रमा शान्तिपूर्ण सडक प्रदर्शनहरू स्वाभाविक र नियमित परिघटना हुन ।

नेकपा एमाले जस्तो लोकतान्त्रिक पार्टी जसले लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफुलाई खरो र परिपक्क रुपमा उभियाएको छ सडक आन्दोलनहरूले बहुमतको आडमा सत्तासीन भएका शासकहरूलाई सुधारको अवसर दिन्छ, अल्पमतमा रहेकाहरुको आवाज मुखरित गर्न सघाउँछ र यथास्थितिबाट परिवर्तनतर्फ डोर्‍याउँछ  भन्ने कुराको जानकार छ। नेकपा एमालेले मंसिर ७ गतेको सडक प्रदर्शनलाई जनजागरण अभियान भनेको छ । सत्तारूढ पार्टीले जनजागरण अभियान चलाउनु पर्ने र सडकमै ओर्लनु पछाडिका उपरोक्त कारण छन ।

राजनीतिक स्थिरताको पक्षमा माहोल सिर्जना गर्न

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र पार्टी नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) केही समय अघि सत्ताविमुख हुनुपर्दाको आहत छन् । कांग्रेस–एमाले गठबन्धन गरेदेखि नै प्रचण्डको आलोचनाको केन्द्रमा वर्तमान के पी ओली नेतृत्वको सरकार छ । दुई ठूला दल मिलेर प्रचण्डको सत्ताको लागि कहिले काङ्ग्रेस त कहिले एमालेको काध फेर्ने विकल्प सकिएपछि प्रमुख प्रतिपक्षी दलको नेताले सरकार गठन भएको १०० दिनको समय जसलाई राजनीतिक भाषामा हनिमुन अवधि पनि भनिन्छ, उक्त अवधिमा पनि राजनीतिक धर्म बिर्सिएर दिनदिनै दुई/तीनवटा सार्वजनिक कार्यक्रममा बोल्ने र सबैजसोमा सरकारलाई सत्तोसराप र आलोचना गर्ने गर्थे र अहिले पनि उक्त कार्य जारी नै छ। प्रतिपक्ष दलका नेताले सरकारको आलोचना गर्नु कुनै नौला सन्दर्भ होइन ।

प्रतिपक्षले खबरदारी सभा वा शान्तिपूर्ण सडक प्रदर्शन गर्नुलाई अन्यथा लिन मिल्दैन । तर उनको अस्वभाभिक गतिविधि र अभिव्यक्ति चाहि सोचनीय नै छ, केही समय अघि उनको र राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रको भेटलाई सामान्य लिन सकिन्न, भेटवार्ता लगत्तै मिश्रले सामाजिक सन्जालमा दिएको अभिव्यक्ति देखि आत्तालिएर प्रचण्डको सचिवालयले विज्ञप्ति नै जारी गर्यो । अहिले फेरि भारतीय चर्चित पत्रिका द हिन्दुमा नेपालका प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर उनले प्रधानमन्त्री के पी ओलीले चाइना कार्ड प्रयोग गरेर भारतलाई अवमुल्यन गरिरहेका छन भनेर दिएको अभिव्यक्ति असामान्य रहेको भनेर नेकपा एमालेले विज्ञप्ति नै जारी गरी माफी माग्न भनेको छ साथै भारत र चीन हाम्रा छिमेकी मुलुकहरु हुन कुन मुलुकको पहिले भ्रमण गर्ने भन्ने विषय नेपाल सरकारको आफ्नो सार्वभौम स्वविवेकको विषय भएको पनि बताएको छ तर प्रचण्ड भारतको प्रिय पात्र बन्न एक पछि अर्को विवादित अभिव्यक्ति दिईरहेका छन ।

पछिल्लो पटक एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्ड फेरि भन्दै थिए, ‘संसद्मा हाम्रो म्याजिक नम्बर छ । यो सरकार उल्टाएर फेरि सरकारमा आउने हामी नै हौं । केही चिन्ता छैन ।’ कार्यकर्तालाई ढाडस दिन यसो भने पनि सडकमा प्रचण्डको सत्ता छटपटी छताछुल्ल पोखिएको छ । गठबन्धनको स्थायित्वमाथि प्रश्न उठाउदै यो सरकार दसै अघि ढल्छ, तिहार पछि ढल्छ, अब मङसिरको भाका सुरु भएको छ, त्यस पछि चीन भ्रमण पछि भन्न थाल्नेछन । राजनीतिक अस्थिरतामा आफ्नो भविष्य देख्ने प्रचण्ड लगायतका शक्तिहरुलाई सशक्त जवाफ दिन आम जनताहरू राजनीतिक स्थिरताको पक्षमा छन भन्ने सन्देश प्रवाह गर्न पनि यो सभा हुन लागिरहेको छ ।

राजनीतिक अराजकताविरुद्ध र विधिको शासनको पक्षमा जनमत निर्माण गर्न

प्रचण्ड नेतृत्वको सरकार हुदा तत्कालीन प्रतिपक्षी नेपाली काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सङ्लघन रहेको भनेर संसदीय छानबिन समिति गठन गर्नु अडान राखेर संसद अवरुध्द गर्यो, लामो समय संसद अवरुध्द भएपछि प्रचण्ड सरकार संसदीय छानबिन समिति गठन गर्न तयार भयो स्वयम रवि लामिछानेले पनि त्यसमा सहमति जनाए भने नेकपा एमाले अध्यक्ष भने व्यक्तिको नाम इङ्गित गरेर जानु हुदैन भन्ने पक्षमा उभिए । एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको सहकारी बचत संसदीय छानबिन समितिले सहकारी रकम अपचलन भएको ठहर गर्दै लामिछानेलगायतलाई कारबाहीको सिफारिस गरेपछि उनी पक्राउ परेका थिए । सहकारी ठगी, किर्ते, संगठित अपराध आदि अभियोग लागेका रास्वपा पार्टी अध्यक्ष रवि लामिछाने प्रहरी हिरासतमा छन र उनको अनुसन्धान चलिरहेको छ ।

रवि पक्राउ परेदेखि नै रास्वपा निरन्तर आफ्नो अध्यक्षको प्रतिरक्षामा आफ्नो सम्पूर्ण बल लगाएर सडकमा उत्रिएको छ, जुन राजनीतिक इमान प्रश्नको घेरामा परेको छ । नेकपा एमाले विधिको शासन र कानुनी राजको पक्षमा छ र सरकार पनि त्यहि दिशा तर्फमा छ जुन सन्देश केहि समय अघि नेकपा एमाले नेता तथा कोशी प्रदेश सरकारका कानुन मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी जस्तो जघन्य अपराधमा सङ्लघन देखिएकाले पार्टीले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ भने कानुन मन्त्रीलाई प्रहरीले प्रकाउ गरी अनुसन्धानको प्रकृया अघि बढाएको छ । न्यायिक प्रक्रियालाई भीडबाट प्रभावित गर्न खोज्दा रास्वपाको अराजनीति र अपरिपक्वता अहिले सडकभरि पोखिएको छ । तसर्थ नेकपा एमाले जागरण सभा मार्फत सरकार राजनीतिक अराजकता विरुद्द निर्मम र विधिको शासनको पक्षमा अझै सशक्त रुपमा उभिने सन्देश दिन चाहन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र माथि भई रहेको प्रहारलाई परास्त गर्न 

पुर्वपञ्चेहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेको संविधान र लोकतान्त्रिक व्यवस्थाभित्रै अटेर चुनावमार्फत संसद्मा पुगेको त छ तर इतिहासको पानामा सीमित भएको राजसंस्था पुनःस्थापनाको हठ बोकेको राप्रपा निरन्तर आन्दोलनमा छ । हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका मुद्दा बोकेर मृत्युशैयामा पुगेको राजतन्त्रको भुतलाई ब्युझाउने प्रयासमा राप्रपा लगायतका धार्मिक अतिवादीहरू रहेका छन । इतिहासको विषय बनेको राजसंस्थाप्रति अब उर्लिएर जनमत बन्ने परिस्थिति त छैन  तैपनि राप्रपा कार्यकर्ताहरु, शुभेच्छुक, समर्थकहरू सडक प्रदर्शन गरेर राजसंस्थाले गुमाएको विश्वास फिर्ता गर्न सकिन्छ भनेर लागि परेका छन ।

राजसंस्थाको पुनःस्थापना गरी अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सकाउन कहिलेकाहीं पूर्वपञ्चहरू भूराजनीतिक चलखेल मार्फत राजसंस्था फर्काउन सकिन्छ भनेर उत्साहित हुन्छन् । यसै पृष्ठभुमिका भारतीय अतिहिन्दुवादी संघ/संगठन वा व्यक्तिले पूर्वराजालाई श्री ५ महाधिराज कै उपमा सम्बोधन गर्न गरेको र केहि समय अधि पुर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण र त्यसको नेपथ्यका विषयहरु प्रति नेकपा एमाले जानकार छ, भुटान आफ्नो आत्मनिर्णयको अधिकार गुमाएको मुलुक हो, जो अहिले पनि भारतीय शासकबाट शाषित छ । राजसंस्था पुनःस्थापनाका लागि जुन भूराजनीतिक अनुकूलताको आवश्यकता पर्छ, त्यस्तो परिवेश त छैन  तर पनि व्यवस्था उल्टाउन राजनीतिक अस्थिरता मार्फत श्रीलंका र बाङ्गलादेश जस्तो अवस्थामा पुर्याउन सकिन्छ भनेर दिवा सपना देख्नेहरुलाई आम नेपाली जनताहरू निरङ्कुश व्यवस्थालाई फालेर आफुले स्थापित गरेरको गणतन्त्रको पक्षमा छन भन्ने सन्देश नेकपा एमाले दिन चाहन्छ ।

निराशाका कुरा र भ्रमको खेती भित्र रहेको षडयन्त्रको तानाबाना तोड्न चाहन्छ 

अहिले समाजमा केही पनि भएन भनेर एक किसिमले निराशाका मात्र कुरा गरेर अहिलेको व्यवस्था र यो व्यवस्था ल्याउन अतुलनीय योगदान गरेका नेतृत्व माथि हिलो छ्यापने काम जसरी गर्न खोजिएको छ चाहे त्यो दुर्गा प्रसाईको आवरणमा होस वा लोकप्रियतावादीहरुको आवरणमा । केहि दिन अघि दुर्गा प्रसाईले साइबर ह्याकरहरुलाई प्रयोग गरेर प्रधानमन्त्री के पी ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी रहेको भनेर नक्कली कागजात सार्वजनिक गर्ने, हस्ताक्षर दुरुपयोग गर्ने जस्ता अपराध कर्मबाट नेकपा एमालेलाई सक्काउने योजनाबाट प्रष्ट हुन्छ ।

यो सङ्गै काठमाडौं महानगरका मेयरले बागमती नदी गएको बाढीको कारक नेकपा एमाले अध्यक्ष ओली रहेको, गिरीबन्धु टी स्टेट प्रकरण अध्यक्ष ओलीलाई खुईलाउन र जनतामा भ्रम र अफवाह सिर्जना गर्ने सकिन्छ भनेर दिनरात लागि परेका छन, जग्गा हदबन्धी सम्बन्धि कानुन बनाउन सर्वोच्च अदालतले नै भनिसकेको अवस्थामा तत्कालीन सरकारले विधेयक बनायो र संसदमा पेश गर्यो ।

काङ्ग्रेस, माओवादी राप्रपा आदि दलहरु संसद रहेकै बेला कानुन पास भएको र पछि उक्त कानुन सर्वोच्च अदालतले खारेज गरी सकेको अवस्थामा कहा नेर भ्रष्टचार भयो नेकपा एमाले अध्यक्षले बालेनलाई गिरिबन्धुमा भ्रष्टाचार भएको पुष्टि गर्न खुल्ला चुनौती दिनुभएको छ। सामाजिक सन्जाल मार्फत नकारात्मकताको भुमरीमा समाजलाई फसाउने र युवाहरुमा देशमा केही हुदैन भनेर निराशा बीच राजनीतिक रोटी सेक्न र ०८४ को निर्वाचनको तयारीमा छन लोकप्रियतावादीहरू, तसर्थ जागरण सभा मार्फत समाजलाई सकारात्मकता तर्फ अघि बढेर निराशाले देश बन्दैन, सकारात्मक उर्जाले मात्र सामाजिक सदभाव सहित मिलेर बसेको नेपाली समाजलाई एकताको मालामा गास्न सक्छ भन्ने सन्देश पनि दिन चाहन्छ नेकपा एमाले ।

बलियो सांगठनिक संरचना भएको एमालेले उपचुनावको मुखमा जागरण सभा मार्फत दिन खोजेको सन्देश जसरी प्रतिनिधि सभा र प्रदेश सभा उप निर्वाचनमा जनताको म्यान्डेड एमालेको पक्षमा स्थापित गर्न सफल भयो हो त्यसरी नै स्थानीय तह निर्वाचनमा पनि त्यस्तै माहोल सिर्जना गरेर एमाले विरुद्दको दुष्प्रयास र दुष्प्रचारको प्रतिवाद सडकबाटै पार्टीको सामर्थ्य देखाउन चाहन्छ  ।

प्रतिपक्षी दलहरू माओवादी केन्द्र, राप्रपा, रास्वपा आ–आफ्नै मुद्दा बोकेर सडकमा सरकार संचालन गरिरहेको एमाले र सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री ओली विरुद्द व्यापक घेराबन्दी गरिरहेका छन । केही संगठित र केही असंगठित तत्वहरु सरकारप्रति असन्तुष्टि र निराशा बढेको छ भनेर देखाउन चाहन्छन । असंगठित भीड र समूहको निशानामा पनि सरकार छ । यी र यस्ता सम्पुर्ण चुनौती सङ्ग लड्न सक्ने तागत नेकपा एमाले सङ्ग छ भनेर आम जनताको व्यापक सहभागिता मार्फत दरबारमार्गको सभा मार्फत दिन चाहन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १२:२८