६ पुष २०८१, शनिबार | Sat Dec 21 2024

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

५ मङ्सिर, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजारको विद्युत् भारत निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गत साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचना प्रयोग गरी नेपालबाट बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत असोजमा आएको बाढीपहिरोका कारण जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो ।

“सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पु-याउँदा विद्युत् उत्पादन बन्द छ,”, उहाँले भन्नुभयो, “यसबाट चालु आवमा राखिएको करिब रु ३० अर्बको विद्युत् निर्यातको लक्ष्य प्रभावित हुने देखिएको छ ।”

गत साउनमा चार रु अर्ब १४ करोड ५० लाख ७७ हजार, भदौमा रु तीन अर्ब ६७ करोड ८४ लाख ४८ हजार, असोजमा रु तीन अर्ब  छ करोड ५१ लाख ३९ हजार र कात्तिकमा रु एक अर्ब ८३ करोड सात लाख ९५ हजारको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात र रु १७ अर्ब छ करोडको निर्यात गरिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार १९:४७