राजस्व असुली कम गर्ने छुट कसैलाई छैन: मन्त्री भण्डारी
१ मङ्सिर, बाँके । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताउनुभएको छ ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले करको दायरा बढाउँदै कर प्रणालीमा सुधार गर्नेतर्फ सरकारले ध्यान दिएको बताउनुभयो ।
“राज्य बलियो भए उद्योग–व्यवसाय बलिया हुन्छन् । त्यसैले राज्यलाई बलियो बनाउन राजस्व लक्ष्यभन्दा बढी सङ्कलन हुनुपर्छ”, उहाँले भन्नुभयो, “राजस्व असुली कम गर्ने छुट कसैलाई छैन ।”
खुला सिमानाका कारण राजस्व छली हुने समस्या घटाउन उद्योगी– व्यवसायी, कर्मचारी र प्रहरी अझ सक्रिय हुुनुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद दीपा शर्मा, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले राजस्व हिनामिना गर्ने छुट कसैलाई नहुने बताउनुभयो ।
प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार ११:५८