एनपिएलका लागि साउथ अष्ट्रेलियाबाट जाने खेलाडीहरुको विदाई तथा सम्मान
एडिलेड । नेपाल प्रिमियर लिग(एनपिएल)का लागि छनौटमा परेका तिन खेलाडीको एडिलेडमा सम्मान तथा विदाई गरिएको छ । आगामी नेपाल प्रिमियर लिग २०२४ का लागि एडिलेड नेप्लिज क्रिकेट एशोशियसन (एन्का) किंग्सका कप्तान सुनम गौतम, फास्ट बलर नन्दन यादव र लेफ्ट हार्म स्पिनर अनिल खरेल छनौटमा परेका थिए ।
जसमा सुनम पोखरा एभेन्जर्स,नन्दन कर्णाली याक्स र अनिल विराटनगर किंग्समा खेल्ने भएका छन् । खेलाडीहरुलाई एन्काले आफ्नो होम ग्राउन्डमा आयोजित एक कार्यक्रम विच सम्मान तथा विदाई गरिएको हो । एन्का अध्यक्ष विजय जोशीले तिनै खेलाडीहरुलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए । उनले अष्ट्रेलियाम समेत राम्रो खेल प्रदर्शन र अभ्यास गरेका खेलाडीले देशको महत्वपुर्ण प्रतियोगितामा भाग लिन पाउनु सबैलाई गर्वको बिषय भएको बताए ।
यसैगरी सुनम गौतम, नन्दन यादव र अनिल खरेलले सम्मानका धन्यवाद व्यक्त गर्दै एन्का जेम्सका खेलाडीहरुको प्रश्नको जवाफ समेत दिएका थिए ।
क्रिकेट संघ नेपाल-क्यानले वार्षिक रूपमा आयोजना गर्ने फ्रान्चाइजमा आधारित टि-२० प्रतियोगिता एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान हुदैछ । एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन् ।
क्यानका अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराईएको थियो । जसमा अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका थिए । भने यसअघि एनपीएलका फ्रेन्चाईजीका मार्की खेलाडी छानिएको थियो । मार्की खेलाडीको २० लाख र खेलाडीहरुको ५ देखी १५ लाख सम्म पारिश्रमिक रहेको छ । जसमा यादवले ११ लाख र गौतम तथा खरेलले ५-५ लाख पारिश्रमिक पाउने छन् ।
प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १८:१८