१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

अब भारतमा खर्च गर्न नेपालीलाई कडाई, कार्ड भुक्तानी सीमा महिनामा १ लाख ६० हजार मात्र

११ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले भारतमा कार्डबाट भुक्तानी गर्न पाउने रकमको सीमा निर्धारण गरेको छ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंक तथा ‘ख’ वर्गका विकास बैंकलाइ मंगलबार पत्राचार गर्दै महिनामा १ लाख ६० हजार नेपाली रूपैयाँ  भन्दा बढी कार्डबाट भुक्तानी नदिन निर्देशन दिएको हो। एटिम मेसिन तथा पोइन्ट अफ सेल (पिओएस) दुवैमा यो लागू हुनेछ। याे नयाँ नियम मंगलबारदेखि कार्यान्वयन हुनेछ। सर्कुलरअनुसार होटल, अस्पताल तथा फार्मासीहरूमा यो नियम लागू हुनेछैन। नेपाली बैंकहरूले जारी गरेका डेबिट, क्रेडिट तथा अन्य प्रिपेड कार्ड भारतमा पनि काराेबार गर्न मिल्छ।

‘नेपाली वाणिज्य बैंकहरूले जारी गरेका कार्डबाट भारतमा भुक्तानी लिने प्रवृत्ति पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको छ। अनलिमिटेड भुक्तानीकाे यो प्रावधानले विदेशी मुद्रा सञ्चिती अप्ठ्याराे पर्ने देखिएपछि नियमन गर्न यस्ताे निर्णय लिइएको हो’, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भने। उनका अनुसार दैनिक १५ हजार भारू अथवा मासिक १ लाख भारूसम्म मात्र भारतमा भुक्तानी लिन पाइनेछ।

सरकारले उच्च दरका भारतीय नोटको नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको दुई सातापछि केन्द्रीय बैंकले भारतमा रकम निकाल्न सीमा तोकेको हो । दुई साताअघि सरकारले एक सयभन्दा ठूला दरका सबै भारतीय नाेट नेपालमा करोबार गर्न प्रतिबन्ध लगाएको थियो।

राष्ट्र बैंकले भारतमा अनुत्पादक क्षेत्रमा भैरहेको खरिदलाई नियन्त्रण गर्न डेबिड, क्रेडिट तथा प्रिपेड कार्डमा रकम निकाल्ने नयाँ व्यवस्था लागू गरेको जनाएको छ। यसअघि भारतमा नेपाली बैंकको कार्ड प्रयोग गरेर रकम निकाल्नका लागि परिणात्मक बन्देज रहेको थिएन। बैंकको पछिल्लो निर्णयबाट भारतीय बजारमा हुने फजुल घट्ने अपेक्षा छ। दैनिक उपभाेग्यदेखि औषधिसम्मका लागि नेपालीहरू भारतीय बजारमा किनमेल गर्ने गर्छन्। सरकारको यो निर्णयले त्यसलाइ नियन्त्रण गर्नेछ।

यसअघि विदेश भ्रमणमा जाने नेपालीलाई विदेशी मुद्रा सटही सुविधा समेत बैकले घटाएको थियो। सटही सुविधा २ हजार ५ सय अमेरिकी डलरबाट १ हजार ५ सय अमेरिकी डलरमा झारेको थियो। केन्द्रीय बैंकले टेलिग्राफिक ट्रान्सफरको सीमा पनि ४० हजार अमेरिकी डलरबाट ३० हजारमा झारेको थियो।

 

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १२:१५