१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै

२८ कात्तिक, तेह्रथुम । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ ।

तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन् । यही तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको छ । गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो ।

तीनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेगबहादुर खड्काका अनुसार बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको हो । हाल सात प्रजातिका गुराँसका बिरुवा नर्सरीमा हुर्किरहेका छन् । उपभोक्ता समूहले नर्सरीबाट यस वर्ष इलामको सूर्योदय नगरपालिकामा चार सय ४० र दार्चुलामा एक सय ८६ गुराँसका बिरुवा बेचेको गरेको छ । डिभिजन वन कार्यालयसँगको साझेदारीमा यस वर्ष १७ हजार पाँच सय गुराँसका बिरुवा रातपोखरी सामुदायिक वनले हुर्काएको छ ।

गत वर्ष लालीगुराँस नगरपालिकाको सहयोगमा ११ हजार बिरुवा उत्पादन गरिएको छ । ज¬ङ्गलबाट सानासाना बिरुवा उखेलेर नर्सरीमा राख्ने गरिएको छ । दुई, तीन वर्षयताका बिरुवा नर्सरीमा छन् । वन उपभोक्ता समूहले बिरुवा खरिद गर्ने ग्राहकको खोजी पनि गरिरहेको छ । गुराँसका बिरुवा वैशाख अन्तिमदेखि असार मसान्तसम्ममा रोपिसक्नुपर्ने उपभोक्ता समूहका सचिव देवी पौडेललेले बताउनुभयो । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा ९० प्रतिशत बिरुवा सरेको समन्वय उपप्रमुख श्री कार्कीले बताउनुभयो ।

सो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु एक करोडको लागतमा राष्ट्रिय लालीगुराँस उद्यान निर्माण भएको छ । लालीगुराँस उद्यानमा नयाँ सहर आयोजनाले बाटो र शौचालय निर्माण गरेपछि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १२:१६