मनाङको सर्वमान्य नेता बनेका सांसद दीपक मनाङ्गेको राजनीतिमा पूर्णबिराम
२० कात्तिक, काठमाडौँ । मनाङ जिल्लाको सर्वमान्य नेता बनेका गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको सांसद पद र राजनीति दुबै चट भएको छ । सर्वोच्च अदालतले मंगलबार मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै उनको सांसद पद चट भएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा। नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले उच्च अदालत पाटनले गरेको फैसला सर्वोच्चले सदर गरेको जानकारी दिनुभयो । उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए । मंगलबार सर्वोच्चले मनाङ्गेको मागदाबी नपुग्ने फैसला गरेको हो ।
२०६१ सालमा नेकपा एमालेका युवा नेता चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा २०७८ सालमा उच्च अदालत पाटनले मनाङ्गेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । गत प्रदेशसभा निर्वाचनमा उनी गणतन्त्रपछि देशमै पहिलो पटक सर्वसम्मत सांसद भएका थिए । अर्थात उनी मनाङको सर्वमान्य नेता भएका थिए ।
गण्डकीको सत्ता परिवर्तनको मुख्य गोटी बनेका मनाङ्गे केही महिनाअघि मन्त्रालय नै बेचिदिन्छु भन्दै चर्चामा आएक थिए । २०७५ वैशाखमा पक्राउ परेका मनाङ्गे पूर्वपक्षमा समेत केही समय जेल बसेका थिए । त्यस समय उनले दुई वर्ष कैद भोगिसकेका कारण अब उनले तीन वर्ष कैद भोग्नुपर्नेछ ।
मनाङ्गेलाई २०७४ को निर्वाचनमा एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएर पहिलो पटक सांसद बनाउन सहयोग गरेका थिए । त्यसपछि २०७९ को निर्वाचनमा देशका सबै ठूला दलले उम्मेदवारी नै नदिएर मनाङ्गेलाई सांसदमा सर्वसम्म बनाउन भूमिका खेलाका थिए ।
२०७९ को निर्वाचनमा मनाङ्गे सर्वसम्मत प्रदेश सांसद बन्दै गर्दा उनले हात काटेका एमालेका युवा नेता चक्रे मिलन भने गोरखा क्षेत्र नं। २ बाट प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका थिए । यद्यपी अन्तिममा उनले टिकट पाएनन । उहिले उनै मिलनको ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङ्गेको सांसद पद चट भएको छ भने अब उनको राजनीति पनि सकिएको छ । फौजदारी अभियोगमा दोषी प्रमाणित भएका कारण मनाङ्गे अब चुनाव लड्न योग्य हुनेछैनन् ।
प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १८:२१