धर्मनिरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुखआधार : प्रधानमन्त्री
१० पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुखआधार भएको बताउनुभएको छ ।
क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको स्मरण गराउनुभएको छ ।
“सनातनकालदेखि बहुसङ्ख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्बन गर्नेहरूले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रतासमेत सुनिश्चित गरिएको छ,” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीले ‘क्रिसमस डे’का अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : १० पुष २०७५, मंगलवार ०५:००