११ कार्तिक २०८१, आईतवार | Sun Oct 27 2024

साफ वुमन्स च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा

११ कात्तिक, काठमाडाैँ । साफ माहिला च्याम्पियनसिप–२०२४ मा पेनाल्टी शुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मध्यान्तरपछिको खेलमा भारतमाथि नेपालले जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो ।
पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा नेपालले पेनाल्टी शुटआउटमा ४-२ गोलले हराएर इतिहास बनाएको छ । नेपालका लागि सावित्रा भण्डारी र भारतका लागि सङ्गीता बस्फोरेले गोल गरेपछि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिन पुगेको थियो । त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो । यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो ।

अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार २२:१३