७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

रास्वपालाई लक्षित गर्दै एमालेले भन्याे- अदालती प्रक्रियालाई प्रभावित हुने गरी आन्दाेलन गर्नु अनुचित हाे

८ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजनीतिक दल, व्यक्ति र संस्थाबाट भइरहेका गतिविधिप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहकारी बचत रकम प्रकरणमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहँदा रास्वपा लगायत संस्था र व्यक्तिहरूबाट भइरहेका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमाले महासचिव शंकर पोखरेलले बिहीबार निकाल्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको  छ। संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको एमालेले जनाएको छ ।

छानबिन समितिले सर्वसम्मत रूपमा औँल्याएका विषयमा छानबिनको पक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री, सरकारका जिम्मेवार व्यक्ति र निकायका विरुद्ध जिम्मेवार व्यक्तिबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आक्षेप लगाउँदै छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण  सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय भएको एमालेको ठहर गरेको छ ।

फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र भयरहित र वैज्ञानिक बनाइ फोजदारी न्याय प्रणालीको प्रभावकारिता बनाउनु सबैको साझा दायित्व भएको विज्ञप्तिमा गरिएको उल्लेख छ । न्यायिक प्रक्रियालाई स्वस्थ, निष्पक्ष र विधिसम्मत ढङ्गले अघि बढाउन राजनीतिक दल, सञ्चार जगत् सरकार तथा गैरसरकारी निकाय एवं नागरिक समेतको सकारात्मक सहयोग आवश्यक पर्ने एमालेले जनाएको छ ।

एमालेले राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले ५ जना बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको एमालेको ठहर छ । यस्तो कसुरमा संघीय सांसदकै उपस्थिति हुनु गैरकानुनी कार्य भएको पनि जनाएको छ ।

सरकारका अख्तियारप्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पुर्‍याउने कुनै पनि प्रकारका गतिविधि नगर्न समेत एमालेले ध्यानाकर्षण गराएको छ । यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन पनि एमालेले सरकारलाई अनुरोध गरेको छ

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १५:०६