८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतामा राखी विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछः प्रधानमन्त्री

८ कात्तिक, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो ।

“जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेमा हामी विश्वस्त छौँ । नेपालजस्ता मुलुकका लागि राष्ट्रसङ्घको मार्गनिर्देशनले राष्ट्रका अस्तित्व जोगाउन सहयोग पुर्‍याउने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्त र प्रतिबद्धताप्रति अडिग छ । शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण तथा प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।”

नेपालको परराष्ट्र नीतिको एक अङ्गका रूपमा रहेको शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराउँदै उहाँले दुई ठूला छिमेकीबीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग पनि शत्रुता नराख्ने’को नीति कायम राखेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १३:३५