७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एनएमबि बैंकको नाफा १९ प्रतिशतले बढ्याे, यस्ता छन् अन्य सूचक

७ कात्तिक, काठमाडाैँ । एनएमबि बैंकको नाफा वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षकाे तीन महिनाकाे वित्तिय विवरणले यस्तो देखाएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.९४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको साेही अवधिमा बैंकले ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १०.१० प्रतिशत घटेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब २३ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी घटेर १ अर्ब ९९ करोड ७९ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

खुद ब्याज घटेपनि बैंकको संचालन नाफा भने २६.५४ प्रतिशत बढेको छ । बैंकको यस्तो नाफा १ अर्ब ७४ करोड ८६ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।

खुद संचालन नाफा पनि १७.९९ प्रतिशत बढेर २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड ६७ लाख रुपैयाँ पुगेकाे छ ।

यसैगरी, बैंकको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँले बढेर २४.९५ रुपैयाँ कायम भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६४.९५ रुपैयाँ छ । बैंकको खराब कर्जा पनि ०.७९ प्रतिशत वृद्धि भई ३.६३ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा १० अर्ब ८६ करोड ३० लाख रुपैयाँ राखेको छ ।

बैंकको निक्षेप १०.१० प्रतिशत वृद्धि भई २ खर्ब ४६ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी ६.१९ प्रतिशत वृद्धि भई २ खर्ब ६ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १३:५३