७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

व्यक्तिगत निम्तो मान्न सरकारी गाडी प्रयोग नगराैं: मुख्यमन्त्री आचार्य

७ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताउनुभएको छ ।

बुधबार बाँकेमा सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले भ्रष्टाचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो -‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको सुरुवात गरेका छौं । ‘एक पटक मुख्यमन्त्री भएपछि, एक पटक सभामुख भएपछी पूर्व बिशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो । त्यो निर्णय उल्टायौं। त्यागको भावना बोकेर यो सरकार अगाडी आएको छ । जनताबाट उठाएको करबाट सेवा सुविधा लिनु राम्रो होइन।’

व्यक्तिगत निम्तो मान्न सरकारी गाडी प्रयोग नगर्न मुख्यमन्त्री आचार्यले निर्देशन समेत दिनुभयो ।

प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडी बढेको बताउदै मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लागु गरेर नयाँ सुरुवात गरेको पनि बताउनुभयो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १३:३७