७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रभु बैंकको नाफा बढ्यो, यस्ताे छ अन्य सूचक

७ कात्तिक, काठमाडाैँ । प्रभु बैंक लिमिटेडको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा बढेको देखिएको हो ।

बैंकले आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ३ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, बैंककाे नाफाका साथै खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको २ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ३.१६ प्रतिशतले बढी हो ।

यस्तै, बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत ६१ करोड ३२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने ३.४४ प्रतिशतले घटेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले कर्मचारीका लागि १ अर्ब ८ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि ४९ करोड ६६ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।

यसैगरी, २३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकको रिटेन्ड अर्निङ १ अर्ब २२ करोड रुपैयाँबराबर थियो । बैंकको रिजर्भको आकार २०.६१ प्रतिशतले बढेर १४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

यता, बैंकको वितरणयोग्य मुनाफामा भने व्यापक गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमाससमम ३२ करोड ५१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ३ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको लाभांश क्षमता दर ०.५९ प्रतिशत रहेको छ ।

यसैगरी, बैंकको खराब कर्जा अनुपात ४.९४ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.९९ गुणा र तरलता अनुपात ३४.५६ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १०:२७