६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

२३८ जना मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान

६ कार्तिक, काठमाडौँ । सरकारले  विपद्का घटनामा परी मृत्यु भएका २३८ घरपरिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोज १२ गतेको बाढीपहिरोले देशका अधिकांश स्थानमा क्षति पुर्याएको तथा ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति रु दुई लाखका दरले राहत वितरण कार्य अन्तिम चरणमा पुगेको छ ।

हालसम्म भने विपद्बाट क्षति पुर्याएको र ज्यान गुमाएका २३ जिल्लाका मृतकका परिवारलाई राहत वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार काठमाडौँमा १९ जना मृतकका परिवार, भक्तपुरमा चार, पाँचथरमा ७,झापामा २, धनकुटा र उदयपुरमा १/१, ओखलढुंङ्गामा १, महोत्तरीमा २, सोलुखुम्बुमा ५, इलाममा १,सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

सबैभन्दा बढी विपद्मा ज्यान गुमाएका काभ्रेपलाञ्चोक जिल्लामा ७९ जना मृतकका परिवारमध्ये ७८ परिवारलाई राहत वितरण भइसकेको छ । त्यहाँ मृतक १ जना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम दने पनि भएको छ भने ललितपुरमा पनि मृत्यु भएका ४६ मध्ये ४५ परिवारलाई रकम हस्तान्तरण गरिएको छ । र एक जनाको हकदार यकिन नभएकाले रोकिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गृह मन्त्रालयबाट सिन्धुपाल्चोक र दोलखामा ७/७, रामेछापमा १, सिन्धुलीमा ३, रुपन्देहीमा २ जना, सिराहामा १, मकवानपुरमा ७ र धादिङका ३६ मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ ।

विपद‍्मा परी ज्यान गुमाएका मध्ये १२ जनाका परिवारलाई राहत वितरण कार्य प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सरकारले विपद् प्रभावित जिल्लाका प्रभावित पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । उक्त पालिकाहरुलाई रु ५० लाखदेखि  १ करोडसम्म राहत उपलब्ध गराउने निर्णय समेत मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १६:५३