६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

सरकारको १०० दिन: प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

६ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने निर्णय गरेका छन् । उक्त निर्णयका लागि पत्रकार सम्मेलन गर्ने कि सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले सरकारको एक सय दिन पुगेको अवसरमा सरकारले गरेका कामकारबाहीका सम्पूर्ण विषयका बारेमा बुधबार सार्वजनिक गर्न लागेका हुन् ।

अहिलेसम्म ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको विवरण प्रधानमन्त्रीलाई बुझाइसकेका छन्, ती विवरणहरू  प्रधानमन्त्रीले अध्ययन गरेर एकमुष्ट सार्वजनिक गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्रीको सचिवालयका ती सदस्यको भनाइ छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली २०८१ असार १७ गते भएको नेपाली काँग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा गत असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए ।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस र एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा तथा नाउपा सहभागी रहेका छन् ।

चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

प्रधानमन्त्रीसँग भएको मन्त्रीहरूको सम्झौतामा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिलाई प्राथमिकतामा राखिएको थियो । त्यसैगरी मन्त्री र सचिव तथा प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबिच पनि कार्यसम्पादन सम्झौता गरिएको थियो ।

उक्त सम्झौता बमोजिम नै सरकार गठन भएको पहिलो एक सय दिन ९२०८१ कात्तिक ६ गते० सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन ९२०८१ माघ १७० गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश गरिएका थिए । त्यसै अनुसार पहिलो सय दिन पुरा भएको अवसरमा प्रधानमन्त्रीले सरकारले गरेका कामकारबाहीका सम्पुर्ण विषयलाई एक मुष्ट समेटेर जानकारी दिन लागेका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १२:४५