६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

प्रचण्ड र माधवका अघि ओलीले मलामी र किरियापुत्रीको खोजी गरेपछि…

६ कात्तिक, काठमाडौँ । सोमबार राति प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलका नेताहरू प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र ज्ञापनपत्र हस्तान्तरणका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । अपरान्ह ४ बजेर ३० मिनेटमै हुनुपर्ने भेट प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दहाल प्रचण्डको कारण राति ८ः३० बज्न पुग्यो । कारण थियो पार्टीको कार्यक्रममा जुम्ला पुग्नुभएको प्रचण्ड काठमाडौँ फर्किन ढिला हुनु ।

विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाइ तीब्रता दिने विषय सार्वजनिक गरेको भएपनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको गुनासो गरेका थिए । उनीहरूले ज्ञापनपत्र मार्फत सरकारले लोकतन्त्रालाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरुलाई विभिन्न ढंगले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरेको भन्दै थप गुनासो गरेका छन ।

प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोल प्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गर्नुभएको छ ।

ज्ञापनपत्र बुझ्दै  प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले विपक्ष दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनुु दिनुु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।’

dainiki.com

प्रधानमन्त्री ओलीले ज्ञापनपत्रको जावाफसँगै सोमबार नै चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले आफ्नो पुत्ला बनाएर अन्त्येष्टि गरेको प्रसंग कोट्याउनु भएको भेटमा सहभागी एक विपक्षी नेताले जानकारी दिनुभयो । गम्भीर मुद्रामा प्रस्तुत हुनुभएको प्रधानमन्त्रीले मेरो अन्त्येष्टि गर्ने किरियापुत्री कहाँ छन ? मलामी कता पुगे ? भनेर प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्रीले बोल्नै पर्दा आफूले पनि राम्रोसँग जवाफ दिन जानेको छ भन्दै रोष प्रकट गर्नुभएको थियो । प्रधानमन्त्रीको प्रश्नले विपक्षी नेताहरू सबै अक्कनबक्क भएका थिए ।

ती नेताका अनुसार भेटमा प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।’

सोमबार राति बालुवाटारमा संयोग पनि अचम्मको बन्यो ।  बिगतमा ओलीको मृत्युमा राजनीतिक भविष्य खोजी गर्ने पूर्व प्रधानमन्त्रीद्धय प्रचण्ड र माधव तथा सोमबार मात्रै मान्छे लगाएर चितवनमा उनै ओलीको पुत्ला अन्त्येष्टि गर्न लगाउने डोलप्रसाद अर्यालसँगै रहेको समयमा प्रधानमन्त्री ओलीले आफ्नो अन्यष्टि गर्ने मलामी र किरियापुत्रीको खोजी गर्नुभयो । ओलीको खोजीसँग उहाँहरूको अनुहारको मुद्रा अलि मलिन देखिन्थ्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार ०९:२६