५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

सुमनाको अभियानमा विद्याको साथ, त्रिविका विद्यार्थीले पाउने भए राहत

कार्तिक५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय भएको छ । त्रिभुवन विश्वविद्यालयले यससम्बन्धी निर्णयको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईलाई दिएको छ ।

विश्वविद्यालयले सोमबार मन्त्रीलाई  पठाएको जानकारीमा यसअघिको मन्त्रालयको पत्रमा पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने ब्यहोरा समेत जानकारी गराउँदछु भन्ने उल्लेख गरिएको जनाइएको छ । यसको जानकारी मन्त्री भट्टराईले सोमबार सामाजिक सञ्जाल मार्फत पनि दिनुभएको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गतेको बसेको बैठकबाट निर्णय गरिएको थियो।

dainiki.com

तत्कालीन शिक्षा मन्त्री सुमना श्रेष्ठको पालमा उहाँकै पहलमा यो निर्णय भएको थियो । लामो समयदेखि भाषाको समस्याका कारण त्रिविका विद्यार्थीले समस्या व्यहोर्दै आएको भनेर आवाज उठाउँदै आउनुभएको श्रेष्ठले आफू शिक्षा मन्त्री भएको एक महिना पूरा नहुँदै त्रिविमा सुधारको लागि पहल गर्नुभएको थियो ।

मन्त्रीको निर्देशन अनुसार त्रिवि प्राज्ञिक परिषद्को स्थायी कमिटीको बैठकले स्नतक तहको सबै परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने निर्णय गरेको थियो । नेपाली भाषाको जग भएका परीक्षार्थीहरूले प्रश्नपत्रको भाषाकै कारण समस्यामा पर्दै आएका थिए ।

यही विषय सांसदमात्रै हुँदा पनि शिक्षा मन्त्री श्रेष्ठले महत्वका साथ उठाउँदै आउनुभएको थियो । योसँगै भाषाकै समस्याका कारण प्रश्न नबुझेर फरक उत्तर लेखेर समस्या व्यहोरिरहेका विद्यार्थीले लाभ पाउने भएका छन । यो निर्णयले त्रिविको समग्र नतिजामै राम्रो सुधार आउने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

त्रिविका विद्यार्थीका लागि खुशीको खबर, अब प्रश्नपत्र नेपाली भाषामा पनि हुने

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १८:४९