४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

४ कात्तिक, काठमाडाैँ । नेपालले अमेरिकाविरुद्धको टी–२० क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा आइतवार बिहान भएको दोस्रो खेलमा पनि विजयी भएसँगै नेपालले एक खेल अघि नै श्रृंखलाको उपाधि जितेको हो ।

तीन खेलको टी–२० श्रृंखलाअन्तर्गत नेपालले पहिलो खेलमा शुक्रवार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । यससँगै नेपालले श्रृंखला २–० ले जितेको छ । अब यी दुई टोलीबीच तेस्रो खेल हुँदैछ । त्यसको नतिजाले फरक पार्ने छैन ।

आइतवार नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा सकिएपछि नतिजाका लागि सुपर ओभरमा गएकाे हाे । सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले सुपर ओभरको पहिलो २ बलमा २ रन मात्र दिए । सोमपालले त्यसपछि २ बलमा शयान जहाँगिरलाई बोल्ड र आरोन जोन्सलाई क्याच आउट पारे ।

अमेरिकाले २ रन मात्र बनाएका कारण नेपालले ३ रनको लक्ष्य पायो । त्यसलाई कप्तान रोहित पौडेल र कुशल भुर्तेलले सजिलै पूरा गरे । रोहितले २ तथा कुशलले १ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३३ बलमा अर्धशतक बनाए । उनले ५४ बलमा अविजित ९२ रन बनाएका हुन् । यस्तै ओपनर अनिल साहले २५, गुल्शन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे ।

१७१ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन नै जोडेपछि खेल रोमाञ्चक बराबरीमा टुंगिएको हो ।

नेपालका लागि करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार ११:२३