३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

 ६ चैत, रौतहट । रौतहटमा प्रहरीले चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ ।घरायसी विवादमा झगडा हुदा श्रीमान्को कुुटाइबाट मृत्युु भएकी ३५ वर्षीया राजकुमारी देवीको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै फरार रहेको जिल्ला प्रहरीले प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टुु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेका छन् ।

घटनापछि फरार अभियुुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १३:१०