कांग्रेसको विधान विश्वमै उत्कृष्टः वरिष्ठ नेता पाैडेल
८ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनेकौँ आशङ्काका बीच महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको र यसले देशभरका कार्यकर्तामा नयाँ उत्साह र एकताको सन्देश गएको बताएका छन । महासमिति बैठकको समापन समारोहलाई अाइतबार सम्बोधन गर्दै वरिष्ठ नेता पाैडेलले काङ्ग्रेसको विधान समावेशीता र अन्य दृष्टिकोणले विश्वमै उत्कृष्ट भएको बताए ।
पार्टीलाई एक ढिक्का र बलियो बनाउन भावनात्मक सम्बन्ध आवश्यक रहेको बताउँदै उनले काङ्ग्रेसले सङ्गठन सुदृढीकरणका लागि भोलिबाटै तालिका बनाएर नयाँ अभियानका साथ गाउँगाउँ जानुपर्ने धारणा व्यक्त गरे । दुई तिहाइको बहुमतको वर्तमान सरकारले अनुभवको कमी र अपरिपक्वकताका कारण जनहितका काम गर्न नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले सरकारले राज्यका विभिन्न निकायमा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लागए ।
महासमितिको मुख्य एजेण्डाका रुपमा रहेको विधान मस्यौदा प्रतिवेदन पारित भएसँगै काङ्ग्रेसमा अब एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको विधानमा छ ।
त्यस्तै आठ सहमहामन्त्री र केन्द्रीय सदस्यमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिएको छ । साथै समावेशीताका आधारमा ३३ जना मनोनीत हुने व्यवस्था विधानमा छ । यस बाहेक वडादेखि केन्द्रसम्ममा आठ तहका पार्टी संरचना रहने विधानले व्यवस्था गरेको छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको बैठकमा झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी थिए ।
काङ्ग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधान कार्यान्वयन गर्न काङ्ग्रेस नेतृत्वकै सरकारका पालामा गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएको अवस्थामा यो महासमिति बैठक भएको हो । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठकले पारित गरेका प्रतिवेदनको कार्यान्वयनले पार्टीलाई नयाँ ऊर्जा दिने काङ्ग्रेसजनको अपेक्षा छ ।
प्रकाशित मिति : ८ पुष २०७५, आईतवार २१:४४