२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

२८ असोज, लुम्बिनी । दसैँ, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैँ, तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ ।

शान्ति, करुणा र सत्मार्गको प्रतीकका रुपमा बुद्धलाई विश्व समुदायले स्वीकार गरेको छ ।लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई तराईमा अहिले चर्को गर्मी सकिएर भरखरै शीतल मौसम भित्रिएको अवस्थामा लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको बताउनुहुन्छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो । ई पू ६२३ मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो ।

यो महत्वपूर्ण पावनभूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमीबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । बुद्ध धर्मप्रति आस्था राख्नेहरुका लागि बुद्ध जन्मस्थल यसै पनि पवित्रस्थल हो । भगवान गौतम बुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । लुम्बिनीमा मायादेवी मन्दिरलगायत, शान्तिदीप, विश्वशान्ति स्तुपलगायत दर्जन बढी गुम्बा र विहार घुम्नैपर्ने क्षेत्र हुन् ।

मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । चाैथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उहाँकी बहिनी प्रजापती र देवगणहरु भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् ।

मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ । यस मन्दिरको अवलोकन गर्न र गौतमबुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् ।मन्दिर परिसरमा उत्तर दिशातर्फ रहेको शान्तिदीप २४ घन्टा नै बलिरहन्छ ।

शान्तिदीप पानी पर्दासमेत ननिभ्ने हुँदा धेरैलाई अनौठो लाग्दछ । दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुङ्गा चढेर रमाउने गर्छन् । लुम्बिनी गुरुयोजनाअन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटरसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ ।

जापानी प्राध्यापक केन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजनाले तीन वर्गमाइल क्षेत्र ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एक वर्गमाइल क्षेत्र विभाजन गरी गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको निर्माण कार्य भइरहेको छ ।

गुरुयोजनाअनुसार तीनवटा क्षेत्र पवित्र उद्यान क्षेत्र, बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तुप बनाएका छन् ।

लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्यरुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतम बुद्धका सन्देश प्रतिबिम्वित गर्नु हो । यस्तै बिहार क्षेत्रअन्तर्गत लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ वटा प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ वटा महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन् ।

यस क्षेत्रमा विभिन्न देशका बौद्ध कला, संस्कृति झल्कने आकर्षक तथा कलात्मक बिहार निर्माण गरिएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तुपहरुमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ ।

यस्तै गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरुका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टलगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन् । यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ ।

जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तुप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा रहेका छन् । लुम्बिनी विश्वभरका लाखौँ मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्य रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ ।

पर्यटकहरुलाई राम्रोसँग गाइड गर्न सक्ने हो भने पर्यटकको बसाई अवधि समेत बढ्ने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली बताउनुहुन्छ । लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट, देव दह र रामग्रामसमेत घुम्न सकिन्छ ।

तिलौराकोटः लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तिलौराकोट पुग्छन् ।

विश्व प्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ ।

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर बाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोटमा ई.पू. एघारौं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषहरुका साथै प्राचीन दरवारको पूर्वी तथा पश्चिमी द्वार अवलोकन गर्न सकिन्छ । यहाँ पटकपटक विश्व प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गर्दा तीन हजार वर्षअघिका संरचना फेला परेका थिए ।

कुदानः कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एवं बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापती गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो ।

यहाँ पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप, एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीन सय भिक्षुले यस बगैंचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिनुभएको थियो भन्ने जनविश्वास रहेको छ ।

निग्लिहवाः कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर र तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ । यसलाई शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । यहाँ सम्राट अशोकले ई.पू २४९ मा शिला निर्माण गरेका थिए । अहिले उक्त स्तम्भ ढलेको छ ।

गोटिहवाः क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात् पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इ.पू.को तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए ।

जगदीशपुर तालः मानव निर्मित सबैभन्दा ठूलो जलासय जगदीशपुर ताल हो । यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ । विश्व रामसार सूचीमा सूचीकृत यस तालमा एकै पटक हजारौंको सङ्ख्यामा बिभिन्न जातका चराहरुको अवलोकन गर्न पाइन्छ । यसको नजिकै थारु बस्ती रहेको र परम्परागत जीवनशैली, थारु जातिको प्रयोग गर्ने भाँडाकुँडा र खानपान आकर्षण हुन् ।

देव दहः देवदह प्राचीन कोलीय राजधानी हो । यो बुद्ध जन्मस्थल लुम्बिनी देखि करिव ६७ किलोमिटर पूर्वमा रहेको छ । यस ठाउमा शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापती र श्रीमती यशोधराको माइती गाउँको रुपमा मानिन्छ । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता रहेको छ ।

बुद्धले आफ्नो ज्ञान प्राप्तीको सातौं वर्षमा सहयोगीहरुका साथमा देव दहको भ्रमण गरेको बिभिन्न बौद्ध ग्रान्थहरुमा लेखिएका छन् । यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापती र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी बृक्षको समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।

रामग्रामः पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहाँसिक, पुरातात्विक तथा धार्मिक रामग्राम स्तुप रहेको छ ।

करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो । सम्राट अशोकले जम्बुदीपमा ८४ हजार स्तुप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्व मानिन्छ ।

लुम्बिनी शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल भएकाले अद्वितीय आध्यात्मिक तीर्थस्थल त हँदै हो, यसको महत्व त्यतिमै सीमित हुँदैन । यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीवशास्त्रीहरूलाई पनि मोहनी लगाउँछ ।

लुम्बिनीमा करिव दुई सय ५० प्रजातिका चरा छन्, जसमध्ये सारसलगायतका कतिपय दुर्लभ प्रजाति पनि पर्दछन् । लुम्बिनीमा अजिङ्गर, नीलगाई जस्ता दुर्लभ जन्तुहरू पनि पाइन्छन् । लुम्बिनी सन् १९९७ देखि यो स्थत विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरू लुम्बिनीको भ्रमण गर्छन् । गत वर्ष सन् २०२३ मा आन्तरिक तथा बाह्य गरी १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार १६:०९