एनआरएनए अध्यक्ष डा. केसी र नेपालका लागि अस्ट्रेलियन राजदूत बीच विशेष भेट
अष्ट्रेलिया । काठमाडौँस्थित अष्ट्रेलियाको दूतावासमा मंगलवार गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र राजदूत लियन जोनस्टन तथा -मिशन प्रमुख श्री ग्रेग क्लेम बीच भेट भएको छ ।
सो अवसरमा अस्ट्रेलियामा भिसा कार्यालयको लागि लबिङ, अस्ट्रेलियाली अर्थतन्त्रमा प्रवासीको योगदानको मान्यता, छात्रवृत्ति अवसरको वृद्धि, सांस्कृतिक आदानप्रदान, व्यापार र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने योजनाहरूमा चर्चा भएको एनआरएनए प्रवक्ता फडिन्द्र पन्तले बताएका छन् ।
यस्तै विद्यार्थीहरुको लागि प्री- डेपाचर ओरिएन्टेशनको व्यवस्था, आगामी अन्तर्राष्ट्रिय महिलाहरूको सम्मेलनको योजना लगायतमा पनि छलफल भएको छ । यो भेटले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको एनआरएनएले जनाएको छ । उक्त भेटका क्रममा संघका अध्यक्ष डा बद्री केसीसँगै प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत पनि उपस्थित रहेको थियो ।
अध्यक्ष डा. केशीले गत सेप्टेम्वर १२ देखी झण्डै तिन साताको अष्ट्रेलिया भ्रमण गरेका थिए । अष्ट्रेलिया भ्रमणमा उठान भएका विषय बस्तुहरुलाई समेटेर अष्ट्रेलियन दुत संग छलफल गरिएको प्रवक्ता पन्तले बताए ।
प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार ०२:२२