२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह

२१ असोज, काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको आवासको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।

विश्व बसोबास दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानमा व्यवस्था गरेअनुसार सीमान्तकृत, घरबारविहीन, सामाजिक तथा आर्थिक रूपले पछिपरेका नागरिकको आवासको हक सुनिश्चित गर्न सरकार लागिरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले सहरी विकासमा युवाको सङ्लग्नता बढाउन सरकारले पहल थाल्ने बताउनुभएको छ । “यसका लागि सहरी विकास मन्त्रालय, जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रम सञ्चालन गरी सरकार ग्रामीण क्षेत्रका नागरिकको समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर छ,” उहाँले भन्नुभयो, “नेपाल सरकारको तर्फबाट सहरी विकासमा युवाको सङ्लग्नता विषयका लागि गर्नुपर्ने प्रयासलाई निरन्तरता दिनेछौँ । युवा जनसङ्ख्याको गतिशिल र शक्तिशाली हिस्सालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसर उपलब्ध गराई उनीहरूको सिर्जनात्मक शक्तिलाई वृहत्तर राष्ट्रिय हितसँगसँगै समग्र सहरी विकासमा पनि समाहित गर्नु आजको प्रमुख आवश्यकता हो ।”

उपप्रधानमन्त्री सिंहले दिगो विकास एजेण्डा–०३० को लक्ष्य ८ ले सबैका लागि समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण उत्पादकमूलक र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने र लक्ष्य ११ मा सहर र मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य लिएकाले सोहीअनसार सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“यी लक्ष्य हासिल गर्नका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकार निरन्तर क्रियाशील रहेका छन् । १६औँ आवधिक योजना, सङ्घीय तथा प्रादेशिक र स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा पनि यसलाई उच्च प्राथमिकता दिइएको छ ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशप्रसाद सिंहले वातावरणमैत्री सहरी पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । सहरी विकास मन्त्रालका सचिव मणिलाल गेलालले पछिल्लो समय युवापुस्ता विदेशिने क्रम बढेसँगै सहरी विकासमा युवाको सङ्लग्नता बढाउने योजना कार्यन्वयनमा चुनौती देखिएको धारणा राख्नुभयो ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले दिगो सहरी विकासका लागि युवा सङ्लग्नता बढाउनुपर्ने र यसका लागि शिक्षा, स्वास्थ्य रोजगारीलगायतका सुविधा तथा अवसर सिर्जनामा जोड दिनुपर्ने बताउनुभयो ।

मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हन्ना सिगर हाम्दीले सहरी विकासमा युवा वर्गको सङ्लग्नताबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख धनश्याम गिरिले पनि सहरी विकासमा युवा सङ्लग्नता बढाउनका लागि योजनावद्ध रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘कर्मशील युवाः समुन्नत सहर’ भन्ने नारासहित यस वर्ष दिवस मनाइँदै छ । युएन— ह्याबिट्याटबाट सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आएकामा नेपालमा पनि सन् २००१ देखि उक्त दिन विश्व बसोबास दिवस मनाउन थालिएको हो ।

युएन ह्याबिट्याटको तथ्याङ्क अनुसार हाल विश्वभर १८–२५ उमेर समूहका व्यक्तिको सङ्ख्या एक दशमलव तीन विलियन रहेकोमा त्यसको ८०५ जनसङ्ख्या विकासशील र विकासोन्मुख राष्ट्रहरूमा रहेको देखिएको छ । यसैगरी नेपालमा १६–४० उमेर समूहका युवाको सङ्ख्या एक करोड २४ लाख रहेको छ जुन कूल जनसङ्ख्याको ४२ दशमलव छ प्रतिशत हो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १५:४६