२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सानिमा लिमिटेडले ७५.७४ लाभाशं दिने

२१ असोज, काठमाडौँ । सानिमा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षसम्मको वितरण योग्य नाफाबाट सेयरधनीका नाममा कायम सेयर बापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी ७५.७४२१ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक १४ गते कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौँमा प्रथम वार्षिक साधारणसभा बोलाएको छ । यस्तै,सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित तीन जना सञ्चालकको नियुक्ति तथा निर्वाचन गर्ने, सञ्चालक समितिको सिफारिस बमोजिम एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सञ्चालक समितिको बैठक भत्ता निर्धारण कम्पनीको सभाले गर्नेछ । यस्तै, आईपीओ निष्काशन गर्ने र आईपीओबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १३:१२