२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एनपिएल अक्सनः कुन खेलाडी कुन टोलीमा अनुबन्ध भए ?

२० असोज, काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई रु १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज आयोजित अक्सनमा अनिलले न्यूनतम रु १० लाख राखेका थिए । उहाँलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।

आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुनुहुन्छ । जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् । यसैगरी, बायाँ हाते स्पिनर सागर ढकाल रु १५ लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध हुनुभएको छ । ‘ग्रेड ए’ मा नाम राखेका उहाँलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जसमा ‘लक्की ड्र’ मार्फत पोखराले पाएको हो ।

तीव्र गतिका बलर प्रतिश जिसीलाई रु १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ । ‘ग्रेड ए’ मा रहेका उहाँलाई अक्सनमा काठमाडाैँ, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उहाँलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो ।

त्यस्तै, लोकेश बमलाई विराटनगरले रु १५ लाखमा अनुबन्ध गरेको छ । विस्फोटक ब्याटरका रुपमा परिचित उहाँलाई किन्न जनकपुरबाहेक  सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए ।
मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुनुभएको छ ।

उहाँलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो । आरिफले न्यूनतम मूल्य रु १० लाख राख्नुभएको थियो । अक्सनमा उहाँलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो ।

यसैगरी, रिजन ढकाल रु १० लाखमा चितवन राइनोजमा आबद्ध हुनुभएको छ । ए ग्रेडमा रहेका उहाँले न्यूनतम रु १० लाख पाउनुभएको छ । त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौँले रु पाँच लाख तिरेर अनुबन्ध गरेको छ । अक्समा कँडेलले न्यूनतम मूल्य पाँच लाख राख्नुभएको थियो । यसैगरी, अलराउन्डर नारायण जोशी रु १० लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध हुनुभएको छ ।

युवा ब्याटर ऋत गौतम रु पाँच लाखमा नै बिक्री हुनुभएको छ । न्यूनतम मूल्य पाँच लाख राखेका उहाँलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ । अक्सन चलिरहेको छ । अक्सनको ग्रेड ‘ए’ न्यूनतम रु १० लाख र उच्चतम रु १५ लाख राखिएको छभने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम रु पाँच लाख तोकिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १९:०१