१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरियो: गृह मन्त्रालय

१७ असोज, काठमाडौँ । बगातारको बर्षाका कारण बाढीपहिरो र डुबानमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई गृह मन्त्रालयले उद्धार गरिएको बताएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरू मार्फत बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋणिराम तिवारीका अनुसार विपदमा अझै २२ जना बेपत्ता रहेका छन् भने एक सय ६९ जना घाइते रहेका छन् । बेपत्ता २२ जनाको खोजी कार्य जारी र घाइते एक सय ६९ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

विपदमा परेर घाइते भएकाहरूलाई निस्शुल्क उपचार गर्ने सरकारले निर्णय गरेको थियो। विपदमा पर्नेहरूमध्ये काठमाडौं उपत्यकाबाट दुई हजार एक सय ५८, बाग्मती प्रदेशबाट १३ हजार ६ सय ४०, कोशी प्रदेशबाट ९० जना र मधेसबाट ३५ जनाको उद्धार गरिएको गृह मन्त्रालयको भनाइ छ।

नेपाली सेनाको हेलिकप्टरबाट वृद्धवृद्धा तथा बालबालिकाहरूलाई उद्धार गरिएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १३:२२