१५ पुष २०८१, सोमबार | Mon Dec 30 2024

कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

१६ असोज, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाका महाधिवेशन निर्धारित सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याइ आवश्यक निर्देशनसमेत गर्न विभिन्न तीन समिति गठन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ गतेको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले आज नेपाल महिला सङ्घ, नेपाल तरूण दल र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन आगामी चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गर्नुभएको हो ।

नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला रहनुभएको छ ।

त्यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय र सरिता प्रसाइं र जीतजङ्ग बस्नेत रहनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय राजिव ढुङ्गाना र प्रतिमा गौतम रहनुभएको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १८:५७