१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गराैँः प्रधानमन्त्री ओली

७ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । किराँत धर्मावलम्बीको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्व पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । “विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुेन बाजागाजा, नृत्य तथा अन्य गतिविधि स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको उल्लेख गर्नुभएको छ । “हाम्रो जातीय, भाषिक र धार्मिक विविधतानै नेपालीलाई एक सूत्रमा बाँध्ने माध्यम भएका छन्”, प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गर्नुभएको छ ।

मङ्सिरे पूर्णिमाको दिन खास गरी किराँत राई र सुनुवार जातिले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । पाकेको अन्नको न्वागी खाने दिनका रुपमा किराँतीले मनाउने यस पर्वका अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत जातिमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार ०७:४२