१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एमालेले सांसदको आधा महिनाको तलब राहत कोषमा जम्मा गर्ने

१५ असोज, काठमाडौँ । नेकपा (एमाले)ले आफ्ना सांसदहरूको आधा महिनाको तलब नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । संसद सचिवालयमा बसेको एमाले संसदीय दलको बैठकले सबै सांसदको आधा महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरेको सचेतक सुनिता बरालले जानकारी दिनुभयो ।

यसअघि एमालेको सचिवालयको आजको बैठकले ५० लाख रूपैयाँ नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा  एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा सहयोग पुर्याउन एमालेले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गर्नुभएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १४:५५