१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बाढीपहिरो राहत कोषमा अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने

१५ असोज, काठमाडौँ । लगातारको बर्षापछि आएको बाढीपहिरो पीडितलाई उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरो पीडीतलाई उक्त राहत प्रदान गर्ने भएको हो ।

‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २२ बमोजिम विपद व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद बैठक बसेको हो। उक्त बैठकले बाढीपहिरो पीडीत, निधन भएकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै तीन दिन शोक घोषणा गरेको छ।

बाढीपहिरोबाट प्रभावित भएकाहरूको उद्धार र राहतमा सहयोग तथा समन्वय गर्न प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रलगायत संघसंस्थालाई आह्वान गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार ११:४७