१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

१५ असोज, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, लगातारको बर्षापछि आएको बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन समस्या भएपछि व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार असोज १२ का विपद्ले बस सञ्चालन हुननसकेका कारण नै बुकिङ बन्द गर्ने तयारी गरेको हो ।

आजै  महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘धेरै यात्रुहरूले असोज १७ देखिको टिकट बुकिङ गरिसकेका छन् । तर, हाम्रो कुरा बन्द गर्ने नै हो । हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकी र नागढुंगामै छन्, बुकिङ गरेर के गर्ने ?’

बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार ११:१९