३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

बाढी पिडितको सहयोगका लागि एनआरएनएद्धारा आव्हान , सोमवार आकस्मिक बैठक

अष्ट्रेलिया । एनआरएनए अन्तर्राष्ट्रिय समितिले नेपाल भएको बाढी पहिरो तथा डुवान पिडितको सहयोगका लागि विश्व भरि रहेका जन समुदायलाई सहयोगका लागि अपिल गरेको छ । भने सोमवार अन्तर्राष्ट्रिय समितिको आकस्मिक बैठक समेत बोलाएको एनआरएनए अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा. विनोद श्रेष्ठले बताउनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष डा. बद्री केशी र उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा हेम राज शर्माले लगातार परिरहेको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले मर्माहित तुल्याएको बताउनु भएको छ । उहाहरुले प्राकृतिक विपद्मा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।

विज्ञप्तिमा बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको  खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारलाई आग्रह गर्दै अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

विज्ञप्तिमा विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गर्दछौँ भनिएको छ ।

यसैगरी दैनिकी संग कुरा गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा. विनोद श्रेष्ठले एनआरएनए अष्ट्रेलिया लगायत विभिन्न राष्ट्रिय समितिहरुले सहयोग जुटाउने कार्य थालनी गरिसकेको बताउदै विगतमा जस्तै मातृभुमीमा दुख पर्दा एनआरएनए सक्रियतापुर्वक क्रियाशिल रहने बताउनु भयो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १६:४८