१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

उपत्यकाका तीन जिल्लामा बाढीबाट २१ जनाको मृत्यु

१२ असोज, काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । काठमाडौँमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि  उपचारारत १८ जना अपाङ्गता भएका  बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १३:५१