११ आश्विन २०८१, शुक्रबार | Sat Sep 28 2024

अष्ट्रेलियामा मनाईयो जितिया पर्व

एडिलेड । थारु कम्युनिटी, साउथ अष्ट्रेलियाको आयोजनामा नेपालीहरुको पर्व जितिया अष्ट्रेलियाको एडिलेडमा भव्य रुपमा मनाईएको छ ।

स्थानिय ह्याकम कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा नेपालबाट अष्ट्रेलिया भ्रमणमा रहनु भएका अभिभावक देखी बालबालिकाहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्कृति झल्काउने गित संगितले माहोल पर्वमय भएको थियो । कार्यक्रम संयोजक बिनय चौधरीले एडिलेडमा थारु समुदाय बढे संगै पर्वहरु पनि सामुहिक रुपमा मनाउन थालिएको बताए । उनी भन्छन् – धेरै मान्छे नेपाल जान पाउदैनन् । पर्व विदेशमा मनाउँदा सबैजना एकैसाथमा दुःख बिर्सिएर रमाउन पाउँछन् । कति जनाले यस्तो समयमा गाउँ सम्झिने गर्छन् ।

कार्यक्रम संचालिका सुमन चौधरीले हरितालिका तीज पर्व जस्तै भएको बताउदै साथीसंगी, दिदीबहिनीहरुसँग रमाइलो गरि आपसी मेलमिलाप, सद्भाव, भाषा संस्कृति जगाउनको लागि पनि यो पर्व मनाईने बताईन  । उनले प्रवासमा यस पर्व मनाउनुको कारण बताउदै भनिन –  कालान्तरमा हाम्रा सन्तानलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

पूर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लाहरुमा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाउने गरिन्छ ।

जितिया पर्व आमाले आफ्नो सन्तानको दिर्घायूको कामना गर्नको लागि, अकाल मृत्युबाट बचाउन कामना गरि मनाइने पम्परागत  मान्यता छ । माइती घरमा गएर दर खाने चलन समेत रहेको छ ।

आश्विन कृष्ण पक्षको सप्तमी देखी नवमी सम्म तीन दिन व्रत बस्ने चलन छ । ब्रतालु महिलाहरुले  पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । दोस्रो दिन अर्थात् अष्टमीका दिन ब्रतालु महिलाहरु निराहार ब्रत बस्ने र त्यस दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ । जितियाको अन्तिम तथा पारन (समापन)को दिन ब्रतालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ०३:०५